एमालेमा सहमतिको सम्भावना टर्यो, सबै पदमा निर्वाचन गर्ने ओलीको संकेत

एमालेमा सहमतिको सम्भावना टर्यो, सबै पदमा निर्वाचन गर्ने ओलीको संकेत

काठमाडौं । सोमबार दिउँसो तीन बजेका लगि तय भएको नेकपा एमाले स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भयो । बैठक आज बिहान ११ बजे बोलाइएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, यो बैठकमा केन्द्रीय कमिटीबाट मनोनित हुने महाधिवेशन प्रतिनिधि चयन लगायतबारे छलफल गर्ने कार्यसूची छ ।

आइतबार उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेपछि एमालेमा सहमतिमा नेतृत्व चुन्ने सम्भावना टरेको छ । अब सवै पदमा निर्वाचन गर्ने मनस्थितिमा ओली पुगेको बताइन्छ । 

ओली यो महाधिवेशनबाट निर्विरोध अध्यक्ष दोहोरिन चाहन्थे । उनी निकट नेताहरूले समेत निर्विरोध नेतृत्व चयनको दावी गरिरहेका थिए । तर रावलको उम्मेद्वारी घोषणाले निर्विरोध अध्यक्ष बन्ने ओलीको चाहना खण्डित हुन पुगेको छ । 

अन्य पदमा पनि आकांक्षी धेरै भएपछि ओलीले निर्वाचनमार्फत नै पदाधिकारी चुन्ने बताउन थालेका छन् । पार्टीमा संस्थापन पक्ष बलियो रहेकोले आफूनिकट नेताहरु नै पदाधिकारीमा आउने निश्चित भएपछि ओली निर्वाचनमै अग्रसर हुन थालेको बताइन्छ ।