१८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप

१८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप

 काठमाडौं । सरकारले  कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका १८ वर्ष माथिका सबैलाई खोप लगाउने भएको छ । 

पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अब भने १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको जानकारी दिए । यसअघि खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गइ खोप लगाउन आग्रह समेत गरेका छन् । 

सरकारले आगमी पुसभित्र दुई तिहाइ र चैतसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य लिएको छ । दुई करोड १७ लाखलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

अहिलेसम्म कुल जनसङ्ख्याको ३० प्रतिशत जनसङ्ख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसङ्ख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ । 

काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले १८ वर्षभन्दा माथिका सबैलाई काठमाण्डौका पाँच खोप केन्द्रबाट नियमित खोप प्रदान गरिरहेको बताए । 

उनले भेरोसेल र एस्ट्राजेनिका खोप दिइसकेको भन्दै वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, कलङ्कीको शहीद मेमोरियल अस्पताल, बल्खुमा वयोधा अस्पताल, गोङ्गबुमा रहेको नयाँ बसपार्कको लोत्से भवन र जडीबुडीमा रहेको जडीबुडी प्रशोधन केन्द्रबाट नियमित खोप प्रदान गरिने बताए । 
त्यस्तै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि आइतवारदेखि फाइजर खोप उपलब्ध गराउन थालिएको बताए । 

रासस