डा.गोविन्द केसीलाई डडेल्धुराबाट रेफर गर्ने तयारी

डडेल्धुरा : चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि डडेल्धुराबाट रेफर गर्ने तयारी गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालमा उपचाररत केसीलाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गर्ने तयारी अस्पतालले गरेको हो।

उनलाई कैलाली वा काठमाडौं रेफर गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ। अनशनको पाँचौं दिन शुक्रबार स्वास्थ्यमा समस्या आएपछि उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा अनशन नबस्ने डा. केसीको अडान भए पनि नागरिक समाज डडेल्धुराको दबाबपछि डडेल्धुरा अस्पताल सारिएको थियो।

केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको चिकित्सकहरूले बताए। डा. केसीको शरीरमा पानीको मात्रा घटेको, कमजोर हुँदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए। स्लाइन नचढाउने उनको अर्को पनि अडान थियो। तर, स्वास्थ्य अवस्था निकै कमजोर बनेपछि उनलाई स्लाइन चढाउन थालिएको छ।

डडेल्धुरामा सोमबारदेखि अनशन सुरु गरेका डा. केसी सदरमुकामस्थित अस्पतालनजिकैको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलामा अनशन बसेका थिए। केसीका मागको समर्थनमा डडेल्धुरामा दिनहुँजसो प्रदर्शन भइरहेका छन्। केसीको समर्थनमा सरकारी सवारी साधनमा रोक प्रा.डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकलमा रोक लगाइएको हो। साथै, डडेल्धुरा सदरमुकाम बागबजार क्षेत्रमा दिउँसो १ः३० बजेदेखि २ः३० बजेसम्म पसल बन्द गरिने नागरिक आन्दोलन संघर्ष समिति, डडेल्धुराले जनाएको छ। आइतबार नै मसाल जुलुससमेत आयोजना गरिएको छ। डडेल्धुरामा पछिल्लो समय अनसनरत डा. केसीको समर्थन तथा जीवन रक्षाका लागि दिनदिनै विभिन्न कार्यक्रमहरू भइरहेका छन्। डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय अगुवाहरुले डा. केसीलाई भेट्दै ऐक्यवद्धता जनाइरहेका छन्।