प्रदेश २ भ्रष्टाचारले बदनाम भयाे, सुशासन कायम गर्छु : नवनियुक्त मन्त्री महतो

प्रदेश २ भ्रष्टाचारले बदनाम भयाे, सुशासन कायम गर्छु : नवनियुक्त मन्त्री महतो

जनकपुरधाम । प्रदेश नम्बर २ मा दुई जना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । माधव नेपाल नेतृत्वको नेकपा एसका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र साँसद प्रमोद यादव मन्त्रीको शपथ लिएका हुन् । उनीहरुले शपथ लिएलगत्तै कार्यभार सम्हालेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा महतो र कानून, न्याय तथा प्रदेश मामिला मन्त्रीमा यादवले जनकपुरको मधेस भवनस्थित मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

मन्त्री भएलगत्तै महतोले चुरे संरक्षणलाई पहिलो प्राथमिकता दिने बताए । उनले भ्रष्टाचारले प्रदेश २ बदनाम भएको भन्दै अब सुशासन कायम गर्नेतर्फ ध्यान दिने बताए । त्यसतै अन्य प्रदेशहरुमा नाम टुंगो लगाइसकेको भएपनि प्रदेश २ मा अझै त्यो अलमल भएकाले प्रदेशको नाम टुंगो लगाउन प्रतिवद्ध हुने जनाए ।