जबराविरुद्ध बार थप आक्रामक, आजदेखि देशव्यापी आन्दोलन

जबराविरुद्ध बार थप आक्रामक, आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । आफ्नो शान्तिपूर्ण धर्नामा प्रहरीले दमन गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराप्रति थप आक्रोशित बनेको नेपाल बार एसोसिएसनले आजदेखि देशव्यापी विरोध कार्यक्रम गर्दैछ । बारले आजदेखि शुक्रबारसम्म देशव्यापी विरोध गर्ने भएको हो । 

बार महासचिव लीलामणि पौडेलले देशभरका बार इकाइलाई पत्राचार गर्दै ५ देखि १० मंसिरसम्म आन्दोलनमा उत्रिन आग्रह गरेका छन् । आन्दोलनको कार्यक्रमअन्तर्गत आज देशभरका बार इकाइलाई बहस बहिष्कार गर्न भनिएको छ ।

यस्तै भोलि देशभरका अदालतमा अदालतमा बिहान १० देखि १२ बजेसम्म कालोपट्टीसहितको धर्नालाई निरन्तरता दिने, मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादकोबाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने निर्णय बारको छ । 

यस्तै बुधबार उच्च अदालत र त्यसका इजलासमा विरोधसभा गर्ने, बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने बारको भनाइ छ ।