रघुवीर महासेठविरुद्ध जनकपुरमा प्रदर्शन

रघुवीर महासेठविरुद्ध जनकपुरमा प्रदर्शन

धनुषा । नेकपा एमालेका स्थायी समिति सदस्य रघुवीर महासेठले मनोमानी ढङ्गले महाधिवेशन प्रतिनिधि छनौट गरेको भन्दै धनुषामा प्रदर्शन गरिएको छ । शनिवार नेकपा एमाले प्रदेशका प्रमुख सचेतक किशोरी साहकाे अगुवाईमा असन्तुष्ट पक्षले विरोध प्रदर्शन गरेका हुन् ।

जनकपुरधामको नगर परिक्रमा गर्दै नेकपा एमाले धनुषाको पार्टी कार्यालयमा गई प्रदर्शन सम्पन्न भएको थियो ।

एमालेको महाधिवेशन प्रतिनिधि छनौटमा महासेठले गुटबन्दी गरेको, आसेपासे र आफन्तहरुलाई मात्र छनौट गरेको भन्दै बाध्य भएर प्रदर्शनमा उत्रिनु परेको सचेतक साहको भनाई छ । उनीहरुले महासेठविरुद्ध नारा लगाएका थिए । 

महासेठले एमालेका प्रमुख सचेतक किशोरी साह र माओवादी केन्द्रबाट आएका शिला यादव, श्रीलाल महासेठ, फरमुद नदाफलगायतलाई बेवास्ता गरेको आरोप छ ।