‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रममा अनियमितता भएको ठहर

‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रममा अनियमितता भएको ठहर

जनकपुरधाम । प्रदेश नं. २ को सरकारले विगत तीन वर्षदेखि ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम संचालन गर्दै आएको छ ।

सरकारको उक्त कार्यक्रममार्फत धेरै बालिकाहरु लाभान्वित पनि भइसकेका छन् । तर उक्त कार्यक्रममा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक अध्ययनले जनाएको छ । 

आयोगकाे प्रदेश २ काे कार्यालय बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक अनुसन्धानमा प्रदेश सरकारले साइकल खरिदमा आर्थिक अनियमितता देखिएको पुष्टि गरेका छन् । 

छात्राका लागि साइकल खरीद गर्दा अनियमितता भएको प्रारम्भिक अध्ययनले देखाएपछि अब अख्तियारले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । 
साइकल खरीद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयको टोलीले १३ असोजमा प्रदेश २ का मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको थियो । आयोगले यो कार्यक्रम सम्बन्धी कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

प्रारम्भिक छानबिनमा अनियमितता भएको पाइएकाले अब मुद्दा दर्ता गर्न अख्तियारले दोस्रो चरणको अनुसन्धान शुरू गरेको आयोगको बर्दिबास कार्यालयले जनाएको छ।

सरकारले प्रदेशका सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्रालाई साइकल प्रदान गर्दै आएको छ।