मन्त्रीमाथि कार्यकर्ताको हातपात प्रयास, ज्यान जोगाउन प्रहरीको शरणमा

मन्त्रीमाथि कार्यकर्ताको हातपात प्रयास, ज्यान जोगाउन प्रहरीको शरणमा

जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवमाथि आफ्नै कार्यकर्ताले हातपात प्रयास गरेका छन् । 

नेपाली काँग्रेसको वडा अधिवेशनका लागि मुखियापट्टी मुसहरनिया गाउँपालिका अस्थित आफ्नै गाउँमा पुगेका उनलाई नेपाली काँग्रेसकै कार्यकर्ताले हातपातको प्रयास गरेका हुन् । 

वडा अधिवेशनमा मन्त्री यादवले हस्तक्षेपको प्रयास गरेको भन्दै कार्यकर्ताहरु आक्रोशित बनेका थिए । आक्रोशित भीडले मन्त्रीमाथि हातपातको प्रयास गरेपछि उनी त्यहाँबाट भागेर प्रहरी समक्ष पुगेको स्थानीय एक नेताले जानकारी दिए । 

घटनापछि मन्त्री यादव भागेर प्रहरी चौकी बहेडाबेला पुगेका थिए । घटनाबारे मन्त्री यादवका सल्लाहकार जीवनाथ चौधरीले ठेलमठेल भएको तर हातपात भने नभएको स्पष्ट पारे । 

काँग्रेस संसदीय दलका नेता समेत रहेका मन्त्री यादव यसअघि उपसभापति निधिनिकट भएपनि हाल उनले निधीको साथ छोडिसकेका छन् ।

आजको घटनामा निधी निकट कार्यकर्ताहरुको सहभागिता रहेको थियो । घटनापछि उनीहरुले निधीको समर्थनमा नारा लगाएको प्रत्यक्षदर्शीले बताए ।