पार्टी मुख्यालय सानेपामा कांग्रेस सभापतिलगायतको धर्ना सुरु

पार्टी मुख्यालय सानेपामा कांग्रेस सभापतिलगायतको धर्ना सुरु

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका सभापति कर्ण मल्लसहितको टोलीले पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेका छन् । 

डडेल्धुराको क्रियाशील सदस्यतामा धाँधली भएको तथा शक्तिको दुरुपयोग गरी अधिवेशन गरेको भन्दै उनीहरुले अनसन सुरु गरेका छन् । 

डडेल्धुरामा काँग्रेसले भदौ २५ मा वडा र असोज ९ मा पालिका अधिवेशन गरेको थियो । सोही अधिवेशन धाँधली भएको र आफूहरुलाई समेत सहभागीता नगराएको भन्दै उनीहरुले अनसन सुरु गरेका हुन् । 
अधिवेशनमा धाँधली भएको भनी निर्वाचन समितिलाई भन्दा समेत समितिले आफ्ना माग सुनुवाइ नगरेपछि मल्लको टोली अनसन बस्न केन्द्रीय कार्यालय सानेपा आइपुगेको हो । 

जिल्ला सभापति मल्लसहित अनसनमा नेविसंघका पूर्वअध्यक्ष केशव सिंह, उपसभापति करुणाकर भट्ट, पूर्व जिल्ला सभापति पदम भट्ट, महाधिवेशन प्रतिनिधि हरि भट्ट, भागेश्वर गाउँपालिका पूर्वसभापति नरबहादुर ठकुराठी र परशुराम नगरपालिका १२ का पूर्व सभापति राजबहादुर भण्डारीलगायत सहभागी छन् भने भोजराज भट्ट, लोकराज भट्ट, गोकुल शाही, सन्तोष देउवा, भुवन भट्टलगायत जिल्ला नेताहरु एवं नवदुर्गा ४ का पूर्व वडा सभापति रमेश ऐरलगायत पनि अनसनमा सहभागी हुन आईपुगेका छन् ।