मुगु आगलागी, ८० घर परिवार विस्थापित

मुगु आगलागी, ८० घर परिवार विस्थापित

मुगु । मुगुको गमगढीमा सोमबार भीषण आगलागी भएको छ । आगलागीका कारण ८० घर परिवार विस्थापित भएका छन्  भने ३५ करोड ५५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगालागीका कारण त्यहाँ भाडामा बस्दै आएका ८० परिवार विस्थापित भएका छन् । उनीहरुकै निवेदनका आधारमा क्षतिबारे विवरण संकलन गर्ला २१ परिवारको २१ करोड २५ लाख, होटल, पसल र भाडामा बस्ने व्यक्तिसहितको १२ करोड ३० लाख गरी जम्म ३५ करोड ५५ लाख बराबरको धनमाल जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चित्र भट्टराईले जानकारी दिए ।

सोमबार राती साढे १२ बजे भएको आगलागीबाट गमगढीमा २१ वटा घर जलेर नष्ट भएका छन् । राती सल्किएको आगो बिहान साढे ४ बजे मात्र नियन्त्रणमा आएको थियो ।  स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको थियो।

घटनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा ७ सदस्यीय प्रदेश सरकारको टोलीले राहत समग्री ल्याएर गमगढी पुगेको थियो । त्यहाँ मुख्यमन्त्री शाहीले हाललाई गाँस, बास र पुनर्वासको पहल गर्ने आगलागी पीडितसँग प्रतिवद्धता व्यक्त गरे । उनले पीडितहरुलाई कष्टपूर्ण रुपमा बस्न नपर्ने आश्वान दिए । 

मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयले घर जलेका परिवारलाई १५ हजार नगद, ३ वटा कम्मल र भाडामा बस्ने परिवारलाई १० हजार नगदसहित ३ कम्मल राहत वितरण सुरु गरेको छ । यस्तै नेपाल रेडक्रस सोसाइटी मुगु शाखाले पीडित परिवारलाई कम्मल, पाल, भाडाकुडा लगायत सामग्री उपलब्ध गराएको छ ।