रसुवा । कांग्रेसको १४औं अधिवेशनअन्तर्गत रसुवामा भएको अधिवेशनमा असन्तुष्ट जनाउँदै आएकाहरुले जिल्लाको दुई वटा गाउँपालिकाको कागजपत्रहरु चोरेर लगेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय धुन्चेमा बुझाएको उत्तरगया र कालिका गाउँपालिकाको फाइल चोरी भएको हो ।
सदरमुकाम धुन्चेमा होटलको कोठामा स्थापना गरिएको सो निर्वाचन अधिकृतको कार्यालयमा राखिएको फाइलहरु बुधबार विहान कोठाको झ्याल फुटाएर चोरी गरिएको सहायक निर्वाचन अधिकृत जनक सिंह साउदले जानकारी दिए । चोरी भएको फाइलमा फाइलिङ गरेर राखिएको कालिका र उत्तरगया गाउँपालिकाका सबै वडाका कागपत्र रहेको साउदले बताए ।
विहान कोठा थुनेर चिया पिउन गएको मौका पारी झ्याल फुटाएर उक्त कागजात चोरी भएको उनले बताए ।
घटनाबारे आवश्यक अनुसन्धान प्रक्रियाअघि बढाएको प्रहरीले जनाएको छ । कागजात चोरीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।
जिल्लामा कांग्रेसको तीन हजार नौ सय ६४ क्रियाशी सदस्यको नामावली सार्वजनिक भएको छ ।