कर्मचारीलाई अर्धनग्न नगर घुमाउने सीके राउतका १७ कार्यकर्ता धरौटीमा रिहा

कर्मचारीलाई अर्धनग्न नगर घुमाउने सीके राउतका १७ कार्यकर्ता धरौटीमा रिहा

जनकपुरधाम । जनकपुरधाममा कर्मचरीलाई अर्धनग्न अवस्थामा नगर घुमाएको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ नेता तथा कार्यकर्ताहरु धरौटीमा रिहा भएका छन्। संघीय खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई अनमावीय व्यवहार गरेका जनमत पार्टीका १७ जना नेतारकार्यकर्ता धरौटीमा रिहा भएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।

उनले जिल्ला अदालत धनुषाको आदेशअनुसार १० जना ५०-५० हजार र ७ जना १-१ लाख रुपैयाँ धरौटी राखेर रिहा भएको बताए। सिरहाका ७ जना, धनुषाका ६ जना, महोत्तरीका ३ जना र सर्लाहीका एकजनामाथि मुद्दा चलाइएको थियो।

जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, विजयकुमार यादव, सञ्जय प्रधान, धनिकलाल कापर, कैलाशप्रसाद साह, श्यामसुन्दर मण्डल, सिरहाका महेशकुमार यादव, सौदी मण्डल, दुर्योधन यादव, प्रेमकिशोर यादव, रामकरण यादव, दिनेश रजक साफी, अमरनाथ साह, महोत्तरीका सञ्जयकुमार साह, वीरेन्द्र महतो, विक्रमकुमार साह र सर्लाहीका सञ्जयकुमार सिंह धरौटीमा रिहा भएका छन्।

गत कार्तिक ४ गते खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाउँदै हिलो दली जनकपुरधाम बजार घुमाएका थिए। घटनाकै दिन प्रहरीले ६२ जनालाई नियन्त्रणमा लिएको थियो। पछि बाँकीलाई छाडेर प्रहरीले १७ जनाविरुद्ध घटनाको अर्को दिन आपराधिक उपद्रव तथा अमानवीय व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको थियो।