विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले प्रतिपक्ष नेकपा एमालेलाई साथ दिएको आरोप लगाएका छन । आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दलाई बहाना बनाएर प्रतिपक्षीले दुःख दिने नियत राखेको र त्यसलाई सभामुख भण्डारीलेले सघाएको आरोपसमेत उनले लगाए ।
मंगलबार प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएपछि सभाबाट बाहिरिने क्रममा यस्तो बताएका हुन । मुख्यमन्त्री राईले भने, ‘आजको बन्द एउटा बहाना मात्रै हो, सर्वसाधारण आवतजावत गरिरहेको सन्दर्भमा सांसदहरू आउन नसक्ने अवस्था पनि थिएन । तर कहीँ सूचित भए सांसदलाई ल्याउन सरकारले बन्दोबस्त गर्नुपर्ने अवस्थामा उहाँले नै बन्दको कारण भन्दै बैठक स्थगित गर्नु भनेको उहाँको नियत नै खराब हो ।’ उनले सभामुखले बन्दको बहानामा बैठक स्थगित गरेर प्रतिपक्षलाई सघाएको र सत्ता पक्षलाई विभेद गरेको आरोप लगाए ।
उनले कार्य व्यवस्था परामर्शको बैठकमा प्रतिपक्ष उपस्थित भएको र विश्वासको मत प्रस्ताव असफल बनाउने एमालेको नियत भएकाले उपस्थिति नजनाएको आरोप लगाए । यसअघि पनि सभामुख भण्डारीले ४१ जना सांसद भनेर गनिरहेको अवस्था आफूलाई प्रतिपक्षी सांसदकै रूपमा गणना गरेकोप्रति आपत्ति जनाए ।
मुख्यमन्त्री राईले आज विश्वासको मत लिनेसम्बन्धी कार्यसूची सार्वजनिक भइसकेको थियो । तर बन्दको कारण देखाउँदै प्रमुख प्रतिपक्षहरु बैठकमा सहभागी नभएपछि सभामुखले बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए । सत्तारूढ पाँचदलीय गठबन्धनको मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा रहेको बेला प्रतिपक्षी दल एमालेको अनुपस्थितिका कारण असफल बनेको हो ।
संविधानमा विपक्षीको अनुपस्थितीमा विश्वासको मत लिन रोक्नुपर्छ भन्ने प्रावधान नरहेको भन्दै उनले सभामुखले दुःख दिन खोजेको आरोप लगाए ।
९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ४१, नेपाली कांग्रेसका २१, नेकपा (माओवादी केन्द्र)का १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १÷१ जना प्रदेश सांसद छन् । जहाँ मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक छ भने पाँचदलीय गठबन्धनसँग ५० जना सांसदको समर्थन छ ।