विप्लवको बन्द : चार वटा बसमा तोडफोड, २११ नेता कार्यकर्ता पक्राउ

विप्लवको बन्द : चार वटा बसमा तोडफोड, २११ नेता कार्यकर्ता पक्राउ

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेको थियो । विप्लवको नेपाल बन्दको देशभर प्रभाव सामान्य रह्यो । विहानमा जनजीवन बढी प्रभावित बनेपनि दिउँसोदेखि भने स्थिती सामान्य बन्दै गएको थियो । 

यता देशभर बजार तथा यातायात सञ्चालनमा अवरोध गराउँदै हिँडेका विप्लवका २११ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले देशभरबाट विप्लवका २११ कार्यकर्ता पक्राउ गरेको जानकारी दिएका छन् । बन्द सफल बनाउने नाउमा नारावाजी गर्ने तथा तोडाफोडमा संलग्न रहेका २११ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेकाहरूलाई आज साँझ छोडिने तथा तोडफोडमा संलग्न भएकाहरुलाई भने अनुसन्धानपछि मात्रै छाडिने कुँवरले जानकारी दिए । 

बन्दकर्ताले ललितपुरमा दुई वटा बसमा तोडफोड गरेका छन् । उता कपिलवस्तुमा एउटा र सुनसरीको धरानमा एउटा बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।