विद्युुतीय गाडी र चुल्हो प्रयोग गर्नेलाई सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्रीको भनाई

विद्युुतीय गाडी र चुल्हो प्रयोग गर्नेलाई सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्रीको भनाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुलो र विद्युतीय गाडी सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान) को १९ र २० औं साधारणसभामा बोल्दै मंगलबार प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले भने, ‘हामीसँग यति विद्युत् छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौं। बस चलाउन सक्छौं। हाम्रो चुलो पनि इलेक्ट्रिक चुलो हुनसक्छ । फेरि यो ग्यासको चुलो किन बाल्ने ?’

उनले विद्युतीय चुलो र बस सञ्चालनका लागि उद्यमी र व्यवसायीलाई सरकार प्रोत्साहन गर्ने बताए । देशभर विद्युतीय सामग्री प्रयोग गरी मुलुकलाई नै नमुना बनाउनुपर्नेमा जोड दिए ।

उनले सर्वसाधारणलाई ब्याट्रीबाट चल्ने गाडी सञ्चालन र घरमा खाना पकाउने इलेक्ट्रिक चुल्हो  प्रयोगमा ल्याउनुपर्ने धारणा व्यक्त गरे । उनले उद्योगपतिहरुलाई पहिला सुरुवात गर्न पनि आगह गर्दै त्यसमा सरकारले सहुलियत दिने बताए । त्यसपछि हिमाल, पहाड तराई गरी देशव्यापी रुपमा इलेक्ट्रिक सामान प्रयोगमा ल्याउन सके मुलुक नमुना देश बन्न सक्ने बताए । 

त्यस्तै हालसम्म नेपाल विद्युत् प्राधिकरणले मात्र गरिरहेको विद्युत् व्यापारलाई निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुरा उठिरहेका बेला ‘म गर्छु वा हामी गर्छाैं’ भनी यो परिमाणको विद्युत् यसरी बिक्री गर्न सक्छौं भन्ने आधारसहित आएमा अनुमति दिन तयार भएको पनि बताए ।