विप्लवले भोलिको नेपाल बन्द ठप्प पार्ने

विप्लवले भोलिको नेपाल बन्द ठप्प पार्ने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि ३० गते नेपाल बन्द गर्ने भएको छ ।

विप्लव नेतृत्वको घोषित विरोध कार्यक्रम अन्तर्गत भोलिको नेपाल बन्द ठप्प पार्ने पार्टीले आज एक विज्ञप्ति जारी गर्दै जनाएको छ । 

भोलिको नेपाल बन्दलाई सहयोग गर्न यातायात व्यवसायी, उद्योग, व्यापार व्यावसाय, शैक्षिक क्षेत्र संवद्ध सम्पूर्ण संघ÷संस्थालाई आह्वान गरेको छ ।

सरकारले हालै महिना दिनभित्र ९ पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेकामा जनताको ढाड सेक्ने गरी गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै विप्लव माओवादीले माग गरेको छ । 

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इञ्चार्ज प्रज्वलनद्वारा जारी विज्ञप्तिमा सम्पूर्ण पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक संघसंस्थालाई बन्द सफल पार्न सहयोग गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘डिजेल, पेट्रोल, हवाइ इन्धन, ग्यास तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धिले आमसर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–वुद्धिजीवी, कर्मचारीलगायत मध्यम वर्ग र व्यवसायीहरूको समेत ढाड सेक्ने निश्चित छ ।’

नेपाल बन्द रहर नभई बाध्यता भएको भन्दै सरकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यविरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित भोलि नेपाल बन्दको घोषणा गरिएको विप्लव माओवादीले जनाएको छ । स्पष्ट पारेको छ ।