संक्रमित संख्या बढ्न थालेपछि नेदरल्याण्डमा आशिंक लकडाउन

संक्रमित संख्या बढ्न थालेपछि नेदरल्याण्डमा आशिंक लकडाउन

नेदरल्याण्ड  । नेदरल्याण्डमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि तीन साताका लागि आंशिक लकडाउनको घोषणा गरिएको छ ।

संक्रमणको जोखिम बढेपछि नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटीले आइतबार रातिबाट लागू हुने गरी आंशिक लकडाउनको घोषणा गरेका हुन् । संक्रमणको नयाँ लहर शुरु भएपछि पश्चिम युरोपमा लकडाउन गर्ने नेदरल्याण्ड पहिलो मुलुक हो ।

संक्रमण नियन्त्रणका लागि अन्य उपाय नभएकाले लकडाउन अपरिहार्य भएको प्रधानमन्त्री मार्कको भनाई छ । पछिल्लो प्रतिबन्ध अनुसार बार, रेस्टुरेन्ट र सुपरमार्केट राति ८ बजेसम्म मात्र खोल्न पाइनेछ । अति आवश्यक बाहेकका पसलहरु साँझ ६ बजे नै बन्द गरिसक्नु पर्ने प्रावधान राखिएको छ ।

व्यवसायिक खेल प्रतियोगिताहरु विना दर्शक खेलाइनु पर्ने भएको छ । यसै गरी सम्भव भएसम्म कार्यालयको काम पनि घरबाटै गर्न भनिएको छ । पछिल्लो २४ घन्टामा मात्रै १६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी हो । नेदरल्याण्डमा ८५ प्रतिशत वयस्कले कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।