काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका छन्। सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरुरी नै नरहेको नेता सिंह बताएका हुन्। गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र औचित्य नरहेको बताए।
‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ। यो संविधान र प्रजातान्त्रिक विधिविपरीत पनि हुन्छ,’ सिंहले भने। गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने उनले बताए। ‘काम त सरकारले गर्नुपर्ने हो। तर समन्वय समिति बनाइएको छ। अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन,’ उनले भने।
उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको भनाइ थियो। ‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ। प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन,’ उनले भने।
उनले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताए। ‘न्यायालयमा देखिएका समस्या त्यहीँ भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन। सरकार यस विषयमा मूकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न।’
न्यायालयमा देखिएका समस्याको कारण जनतालाई असुविधा भएको उनको भनाइ छ। साथै नेता सिंहले वर्तमान परिस्थितिमा अर्लिइलेक्शनको कुनै सम्भावना नभएको समेत बताए।