न्यायालयको विवादमा बोल्न मिल्दैन : माओवादी केन्द्र

न्यायालयको विवादमा बोल्न मिल्दैन : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले न्यायालयमा देखिएको विवादमा पार्टीले केही बोल्न नमिल्ने बताएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी समितिको निर्णय सुनाउँदै प्रवक्ता कृष्णबहादुर महराले माओवादीले न्यायलयमा भइरहेको आन्दोलनका बिषयमा कुनै हस्तक्षेप नगर्ने र समस्यालाई न्यायलयले नै टुङ्गाउनुपर्ने निर्णय गरेको बताए । 

उनले भने, ‘न्यायालय स्वतन्त्र संस्था हो । त्यसैले यसभित्र उब्जिएको विवाद पनि उसैलाई समाधान गर्न दिनुपर्छ । हामी केही बोल्दैनौं ।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आन्दोलनरत छन् । जबराले भने आफू संवैधानिक नियुक्तिबाट आएकाले राजीनामा नदिने मनसायमा पुगेका छन् । 

यस विषयमा दलहरुले आफ्नो धारणा व्यक्त गर्नुपर्ने चौतर्फी माग उठिहरेका बेला दलहरु भने मौन छन् ।