चोलेन्द्रशम्शेर जबरा ‘बिचौलियाका नाइके’ हुन्, हटाउनै पर्छ : बार अध्यक्ष श्रेष्ठ

चोलेन्द्रशम्शेर जबरा ‘बिचौलियाका नाइके’ हुन्, हटाउनै पर्छ : बार अध्यक्ष श्रेष्ठ

काठमाडौ । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोक्न अठोट लिँदै आएको नेपाल बार एसोसिएशनले आन्दोलनलाई थप लम्बाएको छ । पर्सी २५ गते बिहीबारदेखि काठमाडौ उपत्यकाभित्रका सबै अदालतमा दुई घण्टा इजलास नबस्ने घोषणा गरेको छ । 

नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले यसअघि प्रधानन्यायाधीश जबराकाविरुद्ध एक घण्टा मात्रै धर्ना दिँदै आएकोमा अब उक्त समय लम्बाएको बताए ।

मंगलवार सर्वोच्च अदालत परिसरमा एक घण्टे धर्ना कार्यक्रमपछि आयोजित कोण सभामा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश विचौलियाका नाइको भएकाले कुनै पनि हालतमा उनले राजीनामा दिँनै पर्ने धारणा व्यक्त गरे । उनले यस्ता नाइकेहरुलाई हटाउनका लागि आफूहरुले आन्दोलन गरेको भन्दै उक्त आन्दोलनलाई साथ दिन दिन सेवाग्राहीहरूलाई समेत आग्रह गरेका छन् । 

अध्यक्ष श्रेष्ठले पर्सीबाट काठमाण्डौ उपत्यकाभित्रको सबै अदालतमा दुई घण्टा इजलास नबस्ने घोषणा गरेका छन् । उनले बिहान १० बजेदेखि १२ बजेसम्म काठमाडौ उपत्यकाभित्रको उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, न्यायाधिकरणमा इजलास नबस्ने निर्णय गरिएको जानकारी गराए ।

बारले आह्वान गरेअनुसार उक्त समयमा इजलासमा नबस्न न्यायाधीशहरू, अदालतका कर्मचारीहरूलाई पनि अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् । उनले आफूहरु जबराको राजीनामाको माग गर्दै आन्दोलन गरिहेका बेला जबराले भने आफूखुशी पेशी तोक्दै बसेको उल्लेख गरे ।

वर्षौँदेखि सेवाग्राही बिचौलियाबाट पीडित बन्दै आएको भन्दै त्यस्तो विचौलियाको नाइके जबरा भएको उल्लेख गरे । उनले त्यसता विचौलियाका नाइकेलाई जसरी पनि हटाउनुपर्ने धारणा व्यक्त गरे । त्यसका लागि आफूहरुलाई साथ दिन न्यायाधीशज्यूहरू, अदालतका कर्मचारीहरू तथा सेवाग्राहीहरुलाई पनि अनुरोध गरेका छन् । 

आजसम्म आफूहरुले एक घण्टाको धर्ना दिएकोमा सोमबारको निर्णय अनुसार अब दैनिक दुई घण्टासम्म अदालतहरु ठप्प पार्ने उनले बताए । उनले पर्सिदेखि उपत्यकाभित्रको उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, न्यायाधिकरण सम्पूर्ण रूपमा १० बजेदेखि १२ बजेसम्म दुई घण्टा इजलास नबस्ने निर्णय गरेको जानकारी दिए । उपत्यकाबाहिरका कानुन व्यवसायीहरूले पनि सम्बन्धित जिल्लाका अदालतहरूमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने बताए ।