कुनै न्यायाधीशले पनि अदालतको मर्यादा पूरा गरेका छैनन्, सबैले राजीनामा दिनुपर्छ : ओली

कुनै न्यायाधीशले पनि अदालतको मर्यादा पूरा गरेका छैनन्, सबैले राजीनामा दिनुपर्छ  : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाल जारी सर्वोच्च अदालतको विवादबारे बोल्दै सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने तर्क गरेका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुमाझ कुरा गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशले अदालतको मर्यादा पूरा नगरेको भन्दै सबै राजीनामा दिनुपर्ने खालका भएको बताएका छन् । 

हाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजीनामाको प्रशंग उठीरहेका बेला ओलीले उनको मात्रै नभएर सबै न्यायाधीशहरुले नै राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘प्रधानन्यायाधीले मात्रै किन जो–जससँग सम्बन्धीत छन् अरु न्यायाधीशले राजीनामा दिनुपर्ने होइन र !’

ओलीले सर्वोच्च अदालतले गत असार २८ गते प्रतिनिधि सभा पुनःस्थापनासँगै गरेको परमादेशले न्याय मरेको टिप्पणी गरे। जनताको सार्वभौम सत्ता खोसेर अदालतमा दिने खालका असंवैधानिक र अन्यायपूर्ण फैसला गरेर त्यतिबेला नै न्याय मरेको भन्दै अहिले अलिअलि छताछुल्ल मात्रै भएको टिप्पणी गरे ।