प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म हाम्राे आन्दोलन जारी रहन्छ : कानुन व्यवसायी

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म हाम्राे आन्दोलन जारी रहन्छ : कानुन व्यवसायी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने माग गर्दै आज पनि कानुन व्यवसायीहरुले सर्वाेच्च अदालतअगाडि धर्ना दिएका छन् । उनीहरुले आफूहरुको एक मात्रै माग  प्रधानन्यायाधीशको राजीनामा भएको र यो पूरा हुनैपर्ने दावी गरेका छन् । 

नेपाल बार एशोसिएशनले सोमबार विहान आयोजना गरेको धर्ना कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आफूहरुले आनदोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

त्यस्तै अहिले प्रधानन्यायाधीशले आफूहरुको मागलाई वेवास्ता गर्दै आलटाल गर्दै गए देशव्यापी कानुन व्यवसायीहरुको आन्दोलनलाई पनि उनले सामना गर्न तयार हुनुपर्ने चेतावनी दिएका छन् । 

कानुन व्यवसायीहरुले भोलि मंगलबार पनि विहान १० बजे सर्वाेच्चको अगाडि धर्ना दिने बताएका छन् । 

‘हाम्रो अहिलेको माग प्रधानन्यायाधीशको राजीनामा हो र यो कुनै पनि हालतमा पूरा नभएसम्म नेपाल बार एशोसिएशन यो मागबाट बाहिरिनेवाला छैन’आज धर्नामा सहभागी नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले थपे, ‘अहिले आलटाल गर्र्दै गए भोलि देशभरका कानुन व्यवसायीहरु आन्दोलित हुनुपर्ने अवस्था हुनुसक्छ र त्यस्तो अवस्था आयो भने त्यो सामना गर्न प्रधानन्यायाधीश तयार हुनुपर्छ ।’

न्यायालय समाप्त हुन लागेको भन्दै त्यसबाट जोगाउन प्रधानन्यायाधीशको राजीनामा अनिवार्य भएको कानुन व्यवसायीहरुको भनाई छ । उनीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म न्यायालय चल्नै नसक्ने भन्दै आन्दोलन जारी राख्ने बताएका छन् ।