इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा ९८ भन्दाबढीको मृत्यु

इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा ९८ भन्दाबढीको मृत्यु

सियरा । इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९८ भन्दा बढीको मृत्यु भएको छ । देशको राजधानी फ्रिटाउनमा हिजो भएको दुर्घटनामा परी अन्य सय भन्दा बढीको उपचार भइरहेको पनि बताइएको छ ।

अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् । उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि ९० भन्दाबढीको मृत्यु भएको जनाएका छन् । घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन् ।

अर्को एउटा सवारी साधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन् । “दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको, रोइरहेको देखिएको थियो र कोही कोही त जल्दै दौडिँदै गरेको पनि देखिएको थियो”, एक प्रत्यक्षदर्शीले भने ।

घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् । बिहान किनबेचका लागि सयौँ मानिसको भीड सडकमा लागेको थियो । त्यही भएर पनि मानवीय क्षति धेरै भएको अनुमान गरिएको छ ।

राष्ट्रपति जुलियस मादा बायोले ठूलो मानवीय क्षति हुनेगरी भएको दुर्घटना र आगलागीको घटनाले आफूलाई अति दुखित बनाएको बताउएका छन् ।