काठमाडाैं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले वैकल्पिक राजनीति सस्तो र कमजोर नभएको बताएका छन् । राजनीतिक भेटघाटलाई गलत ढंगले प्रचार गरिएको भन्दै उनले विवेकशील आन्दोलनलाई सिध्याउने प्रयास भइरहेको भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
उनले आफूलगायत एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको भनेर गलत हल्ला फैलाइएको गुनासो समेत गरेका छन् । 'हामी नियमित रूपमा नेताहरूलाई भेटिरहेका हुन्छौँ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अघिल्लो हप्ता हामीले काँग्रेसको, माओवादीको र नेकपा एसका शीर्ष नेताहरूलाई भेटेर राष्ट्रिय राजनीतिबारे छलफल गरेका छौँ। सुझाव दिएका छौँ।’
हरेक भेटमा हरेक नेताहरूसँग नागरिकको मुद्दामा कसरी सहकार्य गर्न सकिन्छ भन्ने छलफल गर्ने गरेको उनको भनाइ छ ।
उनले विवेकशील साझाको आन्दोलन अब झन् सशक्त भएर अघि बढ्ने बताउँदै विचार मिल्ने दलहरूसँग आवश्यक सहकार्य भने हुने बताएका छन् ।