जंगलमा जथाभावी आगो सल्काउने २४ जनालाई मृत्युदण्डको सजाय

जंगलमा जथाभावी आगो सल्काउने २४ जनालाई मृत्युदण्डको सजाय

सिरिया । सिरियामा त्यहाँको अदालतले जंगलमा जथाभावी आगो सल्काउने २४ जनालाई मृत्युदण्डको सजाय दिएको छ। गत वर्ष उनीहरुले सिरियाका विभिन्न जंगलमा सुनियोजित रुपमा आगो सल्काउँदा ३ जनाको ज्यान गएको र हजारौ एकर जंगल जलेको थियाे ।

उनीहरुलाई आतंकवादी अभियोगमा गत वर्ष पक्राउ गरिएको थियो। २४ जनालाई बुधवार मृत्युदण्ड दिइएको बताइएको छ। घटनामा संलग्न अन्य ११ जनालाई जीवनभर कडा श्रमको सजाय दिइएको छ भने ४ जनालाई अल्पकालीन कडा श्रमको सजाय तोकेको छ। अन्य ५ जनालाई १० देखि १२ वर्षसम्मको जेल सजाय तोकेको  छ।

ती व्यक्तिहरुले सुनियोजित रुपमा लगाएको आगोबाट २८० गाउँमा असर पुगेको थियो। जसबाट ३७० घरमा क्षति पुगेको र ११ हजार हेक्टर वन क्षेत्र नष्ट भएको बताइएको छ। जंगलमा लागेको आगो त्यहाँ लतकिया, टर्टोस र होम्स राज्यहरुमा फैलिएको थियो। सिरियामा राजद्रोह, जासुसी, हत्या र आगजानीमा संलग्नलाई मृत्युदण्डको सजाय हुने व्यवस्था रहेको छ।