अरु पार्टी हड्बडाएका छन्, एमाले ढुक्क छः ओली

अरु पार्टी हड्बडाएका छन्, एमाले ढुक्क छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव नजिकिँदै गर्दा अन्य पार्टीहरु हड्बडाएको टिप्पणी गरेका छन् ।

एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावसम्म पुग्दा कतिले साँठगाँठ गरेर जाने हुन् हेर्न बाँकी रहेको समेत टिप्पणी गरे । उनले नेकपा एमाले मात्रै ढुक्क भएर अघि बढेको भन्दै अन्य पार्टीहरु चुनावदेखि नै डराइरहेको जिकिर गरे । 

पूर्व प्रधानमन्त्री ओलीले अहिले यो सरकार कसले चलाएको भन्ने नै कसैलाई थाहा नभएको उल्लेख गरे । अहिलेको जस्तो बेहाल अवस्था नेपालमा कहिले नभएको भन्दै उनले गठबन्धन सरकारप्रति कटाक्ष गरे । गठबन्धनले कांग्रेसलाई भोट कुन चुनाव चिन्हमा हाल्ने भन्ने नै टुंगो भएको छैन । 
सरकारलाई सत्ता जोगाउने ध्यान बाहेक देशको लागि सोच्ने समय नै नरहेको आरोप लगाए । उनले भने, ‘तीन महिनापछि विस्तार भएको मन्त्रीमण्डलमा पनि जनताले मन्त्रीलाई देख्दा अर्कोतर्फ फर्कनुपर्ने अवस्था छ।’ 

ओलीले एमालेको प्रतिस्पर्धा नेपाली कांग्रेससँग रहेको भन्दै अन्य च्याँखे थाप्नेहरुको कुरै नहुने बताए । एमालेको प्रमुख प्रतिस्पर्धीले अहिलेसम्म गरेका काम गरेर देखाउनुपर्ने दावी गरे । एमाले पराजित गर्ने एक मात्र उद्देश्यका साथ अघि बढेका माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एमालेलाई केही गर्न नसक्ने बताए । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति व्यंग्य गर्दै उनले भने, ‘चितवनवासीले के भन्लान, छोरीलाई जिताइयो, बाबुलाई पनि जिताईयो के पाइयो भन्ने गम्भिर प्रश्न उठेको बताए ।