आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै

आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

दसैँघर र कोत्लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा–आराधना र दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्छन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा–आराधना एवं दर्शनका लागि भक्तजनको भिड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँघरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा–आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणा समेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा–आराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।