देउवा सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

देउवा सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । 

राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित कार्यक्रममा शेरबहादुर देउवा मन्त्रिपरिषदका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले शपथ लिएका हुन् । नवनियुक्त १६ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र दुई जना राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपत गराएका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको ८३ दिनपछि शेरबहादुर देउवाले शुक्रबार १६ जना मन्त्री र २ राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

यसअघि कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्रीसहित चार जना र माओवादीबाट २ मन्त्री नियुक्त भएका थिए । नयाँ  मन्त्री थपिएसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो । संविधानबमोजिम मन्त्रिपरिषद् २५ सदस्यीय हुने व्यवस्था छ ।

नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री छन् ।

त्यसैगरी डा. मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, डा. नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् ।

त्यसैगरी महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीमा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद विस्तार गर्दा यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन् ।