सभामुखले माफी नमागेसम्म संसद चल्न दिँदैनौः प्रवक्ता ज्ञवाली

सभामुखले माफी नमागेसम्म संसद चल्न दिँदैनौः प्रवक्ता ज्ञवाली

रुपन्देही । नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सभामुख अग्नि सापकोटाले माफी नमागेसम्म संसद चल्न नदिने बताएका छन् । प्रेस चौतारी पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले सभामुखले संविधान तथा ऐन नियमविपरीत काम गरेको भन्दै उनले माफी मागेर आफ्ना गल्ती नसच्याएसम्म संसद अवरोध जारी राख्ने बताए । 

उनले एमालेले कारवाही गरेका १४ जना सांसद निष्कासनसम्बन्धी सूचना टाँस गर्नुपर्ने र कानुनी कारवाहीमा सभामुखले गल्ती भएको स्वीकार गर्नुपर्ने धारणा राखे । 

नेता ज्ञवालीले अदालतको परमादेशबाट स्थापित गठबन्धन सरकार विभिन्न स्वार्थहरुको अपवित्र गठबन्धन भएको समेत टिप्पणी गरे । उनले मुलुकलाई अनिर्णयको बन्दी बनाएर राख्नुभन्दा ताजा जनादेशमा जानुपर्नेमा एमाले सदैव अडिग रहेको समेत स्पष्ट पारे । उनले यो गठबन्धन लामो समय नटिक्ने समेत धारणा व्यक्त गरे । 

सरकारले संघीय निर्वाचनको लागि मिति घोषणा गरे त्यसलाई एमालेले स्वागत गर्ने समेत बताए । सरकारले एमालेलाई फुटाउन मात्र अध्यादेश ल्याएको, एमाले फुटाएपछि पुन फिर्ता गरेकाले सरकारको नियत कस्तो भन्ने कुरा प्रष्ट भएको समेत टिप्पणी गरे । उनले भारतीय सिमा विवादमा नबोल्ने बरु हुँदै नभएको विवाद झिकेर चीनसंग निहुँ खोज्ने काम गरिरहेको बताए ।