पार्टीमा संगठनात्मक अराजकता र गुटबन्दी बढ्यो : ईश्वर पोखरेल

पार्टीमा संगठनात्मक अराजकता र गुटबन्दी बढ्यो : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले नेकपा एमालेमा पछिल्लो समय संगठनात्मक अराजकता र गुटबन्दी बढ्दै गएको गुनासो गरेका छन् ।

शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको विधान महाधिवेशन छलफलका लागि महासचिव पोखरेलले पेस गरेको ५२ पृष्ठको प्रस्तावमा सो कुरा उल्लेख गरिएको छ । प्रस्तावमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासका क्रममा जननेता मदन भण्डारीको नेतृत्वमा प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद यतिबेलाको सबैभन्दा क्रान्तिकारी विचार भएको उल्लेख गरेका छन् । उनले जवजका आधारमा विकास गरिएका कार्यक्रम, कार्यदिशा, नीतिहरू नै एमाले निर्माणका आधार भएको समेत उल्लेख गरेका छन् ।

त्यस्तै उनले पार्टीमा पछिल्लो समय संगठनात्मक अराजकता र गुटबन्दीको समस्या रहेको बताएका छन् । महासचिव पोखरेलले पार्टीले योजनाबद्ध ढंगले वैचारिक कामलाई अघि बढाउन नसके संगठनात्मक अराजकताको समस्या समाधान पनि हुन नसक्ने बताएका छन् ।

पार्टीमा अहिले कार्यकर्ताहरूमा समेत  मापदण्डविनै सदस्यता प्रदान गर्ने, पार्टी सदस्यता बापत शुल्क, लेबी अरू तिरिदिनुपर्ने लगायत घटनाहरू देखिन थालेकोप्रति दुःख व्यक्त गरे । उनले हरेक वर्ष पार्टी सदस्यता नवीकरण हुनुपर्नेमा त्यसतर्फमा खासै ध्यान नगएको पाइएको बताए । 

त्यसैले अब पार्टीले आगामी दिनमा योजनाबद्ध ढंगले संगठनात्मक अराजकता र गुटबन्दीको विरुद्धमा वैचारिक राजनीतिक अभियान सञ्चालन गर्नु अत्यावश्यक रहेको महासचिव पोखरेलद्वारा पेश गरिएको प्रस्तावमा भनिएको छ ।