परराष्ट्रमन्त्री खड्काको शपथ बदरको मुद्दाको पेशी १६ औं नम्बरमा

परराष्ट्रमन्त्री खड्काको शपथ बदरको मुद्दाको पेशी १६ औं नम्बरमा

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिएको पद तथा गोपनीयताको सपथ खारेज गर्न माग राखी सर्वोच्च अदालतमा दायर भएको रिट १६ औं नम्बरमा पेशी चढेको छ ।

गुल्मीका २९ वर्षीय अधिवक्ता विशाल न्यौपानेले परराष्ट्रमन्त्री खड्काले लिएको सपथ असंवैधानिक भएको जिकिर गरेका छन् । कुनै कानुन निर्माण नगरी खड्काले राष्ट्रपतिसमक्ष लिएको शपथ असंवैधानिक रहेको दाबी गर्दै अधिवक्ता न्यौपानेद्वारा दायर गरेको रिट सुनुवाईका लागि न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशमा पेशी चढेको हो ।

शपथसम्बन्धी अध्यादेश निस्क्रिय भएको अवस्थामा गैरसंवैधानिक तवरले शपथ गराइएको र खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएकोले सो बदर गर्न माग गर्दै उनले रिट दायर गरेका थिए । २०७८ असोज ६ गते प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा परराष्ट्रमन्त्रीमा नियुक्त डा। खड्काले सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका थिए।