कोरोना फैलिएपछि खुलेको १५ दिनमै पुनः बन्द भए विद्यालय

कोरोना फैलिएपछि खुलेको १५ दिनमै पुनः बन्द भए विद्यालय

स्याङ्जा । दुई छात्रामा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्याङ्जाको एक विद्यालय तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । कोरोना सङ्क्रमणसँगै लामो समय बन्द भएको विद्यालय खुलेको १५ दिनमै कक्षा ९ मा अध्ययनरत दुई छात्रामा कोरोना पुष्टि भएपछि तीन दिनका लागि बन्द गरिएको हो । 

स्याङ्जाको चापाकोट नगरपालिका–६ स्थित साँखर मोहमी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत  छात्रामा ज्वरो, रुघाखोकीलगायत लक्षण देखिएपछि विद्यालय समयमै नजिकै रहेको स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको विद्यालयका प्रधानाध्यापक दीपक बस्ताकोटीले जानकारी दिए ।

दुई छात्रामा कोरोना पुष्टि भएपछि अन्य विद्यार्थीमा सङ्क्रमण फैलिन नदिनका लागि विद्यालय व्यवस्थापन समिति र चापाकोट नगर शिक्षा समितिको निर्णयबमोजिम आजदेखि तीन दिन विद्यालय बन्द गरिएको प्रअ बस्ताकोटीले बताए ।

आगामी शुक्रबारदेखि विद्यालय सञ्चालन गर्ने र गेटमै ज्वरो परीक्षण गरी लक्षण देखिएका विद्यार्थीको एन्टिजेन परीक्षण गर्ने तयारी भइरहेको चापाकोट नगर शिक्षा शाखा प्रमुख दुर्गा न्यौपानेको भनाइ छ ।