प्रधानमन्त्रीलाई ओलीको सन्देशः दलसम्बन्धी अध्यादेश असंवैधानिक

प्रधानमन्त्रीलाई ओलीको सन्देशः दलसम्बन्धी अध्यादेश असंवैधानिक

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश असंवैधानिक भएको ठहर गरेका छन् । आज विहान बालकोटमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी र खारेजी गर्नु असंवैधानिक र बदनियतपूर्ण रहेको बताएका छन् । सरकारले सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश फिर्ता लिएसँगै ओलीले उनले कानुनमन्त्रीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो सन्देश पठाएका हुन् । 

भेटमा ओलीले भनेका छन्, ‘चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो’ उनले अघि भनेका छन्, ‘सरकारले पार्टी फुटाउने प्रयोजनका लागि भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन विल्कुलै असंवैधानिक, षड्यन्त्रपूर्ण र वदनियतपूर्ण रहेको पुष्टि भएको छ ।’ 

त्यस्तै कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को भएपनि संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन नसक्ने ओलीले कार्कीमार्फत देउवालाई पठाइएको सन्देशमा भनिएको छ । 

भेटमा अध्यक्ष ओलीले अध्यादेशबारे आफ्नो दलको गम्भीर आपत्ति  रहेको भन्दै यसको विरोध गरेको सन्देश प्रधानमन्त्री देउवासमक्ष पठाएको ओलीका प्रेस सल्लाहकार रामशरण बजगाइँले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।