काठमाडौं । सत्ता गठबन्धनमा दल विभाजन सम्बन्धि अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । सो अध्यादेश खारेज गर्न अर्को अध्यादेश ल्याउनुपर्ने भएकोले सरकारले आज नै संसद् अधिवेशन अन्त्य गर्ने तयारी गरेको स्रोतको दाबी छ ।
गठबन्धनको घटक जनता समाजवादी पार्टी फेरि विभाजित हुने खतरा देखिएपछि अध्यादेश फिर्ता लिने तयारी भएको हो । त्यसका लागि संसदको चालु अधिवेशन अन्त्य गर्नुपर्ने भएकाले आज रातिसम्ममा अधिवेशन अन्त्य गर्ने संभावना पनि बढेको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाका आज बस्ने वैठकबाट बजेट सम्बन्धि विधेयकहरु सवै पारित गर्ने र अधिवेशन अन्त्य गर्ने सहमति भएको बुझिएको छ । सत्ता गठबन्धनको हिजो बसेको बैठकले सरकारलाई पूर्णता दिने जिम्मा शीर्ष नेताहरुलाई दिएको थियो ।
गठबन्धन दलहरुबीच कुरा नमिल्दा शेरबहादुर देउवा प्रधानमन्त्री बनेको साढे दुइ महिना वितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । अध्यादेश खारेजसँगै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिने भएका छन् ।