दीपक मनाङ्गेले पाएनन् रोजेको मन्त्रालय, फेरि खेलकुद मन्त्रीका रूपमा पदभार ग्रहण

दीपक मनाङ्गेले पाएनन् रोजेको मन्त्रालय, फेरि खेलकुद मन्त्रीका रूपमा पदभार ग्रहण

काठमाडौं । नियुक्तिको झण्डै एक महिनापछि गण्डकी प्रदेशका दुई विना विभागीय मन्त्रीले विभागीय मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको रूपमा जनता समाजवादी पार्टी (जसपा) का हरिशरण आचार्य र युवा तथा खेलकुद मन्त्रीका रूपमा राजीव गुरुङ (दीपक मनाङ्गे)ले आइतबार कार्यालय समयमा पदभार ग्रहण गरेका हुन् ।

यसअघि आचार्यले आर्थिक मामिला र मनाङ्गेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्दै आएका थिए । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको छलफलपछि उनीहरू अर्कै मन्त्रालय लिन सहमत भएका हुन् । 

गत ४ असारमा कांग्रेस नेतृत्व सरकारले जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमति गरे पनि सहमति तोडेपछि किचलो शुरू भएको थियो । यसअघि कांग्रेसका कुमार खड्काले सामाजिक विकास र माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा लिइसकेका छन् ।

गत २९ जेठमा कांग्रेसका पोखरेलको नेतृत्वमा गण्डकी सरकार बनेको थियो । बाँकी मन्त्रालयको भागबण्डा भने बजेट पास भएपछि मात्रै हुने भएको छ । गण्डकीमा कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा तथा स्वतन्त्र सांसद मिलेर सरकार बनाएका हुन् ।

जसमा कां‌ग्रेस र माओवादीलाई ४–४, जसपालाई २ र स्वतन्त्रलाई १ मन्त्रालय दिने सहमति भएको थियो ।