सुजिताको मोबाइल भेटियो, सिमकार्ड भेटिएन

सुजिताको मोबाइल भेटियो, सिमकार्ड भेटिएन

चितवन । मृत फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको मोबाइल फोन भेटिएको छ । प्रहरीका अनुसार उनको शव भेटिएको स्थाननजिकै मोबाइल भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले मंगलबार (आज) दिउँसो पौने २ बजेतिर मोबाइल भेटिएको जानकारी दिए । “मोबाइल त भेटियो, अब चप्पल खोज्दै छौँ,” उनले भने ।

उनका अनुसार सुजिताले प्रयोग गरेका सामान भेटिएपछि अनुसन्धानमा सहज हुनेछ । ‘विषको बोतल, पैसा, मोबाइल, झोला, भेटियो,” उनले भने, “अब चप्पल भेटियो भने मुख्य घटनास्थल यही ठाउँ भन्ने अनुमान गर्न सकिन्छ ।’ ‘कल डिटेल रेर्कड’बाट पनि घटनाको अनुसन्धान भइरहेको छ । शव फेला परेको स्थानभन्दा करिब २० मिटर पर मोबाइल फेलापरेको हो । मोबाइलमा मेमोरी कार्ड भेटिएको तर सिमकार्ड भने नरहेको प्रहरीले जनाएको छ ।

सुजिता बेपत्ता भएको १० दिनपछि गएको आइतबार सडेको अवस्थामा स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा उनको शव भेटिएको थियो । शव परीक्षणको लागि सोमबार राति काठमाडौं पठाइएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र चितवनका प्रहरी अधिकारीहरु लागिपरेका छन् ।