'सुजिता भण्डारी घटनाको प्रकृतिले गम्भीर आशङ्का जन्मायो'

'सुजिता भण्डारी घटनाको प्रकृतिले गम्भीर आशङ्का जन्मायो'

काठमाडौं । समाजवादी विद्यार्थी युनियनले पूर्वी चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युको अनुसन्धान गर्न र दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन माग गरेको छ।

भण्डारी जंगलमा मृत भेटिएको र घटनाको प्रकृतिले गम्भीर आशङ्का जन्माएको युनियनले जनाएको छ। हप्ता दिनदेखि हराएकी युवतीले आफू अपहरणमा परेको र आफूलाई बचाउन रुदै हारगुहार गर्दासमेत सकुशल उद्दार गर्न नसक्नु, जङ्गलमा मृत शरीर भेटिनु, ३ वर्षसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नुले गम्भीर संसय र प्रश्नहरु जन्माएको युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

युनियनले सुजिता भण्डारी मृत्यु प्रकरणलाई राज्यले छानविन गरि चाडो भन्दा चाडो दोषिलाई कानुनी कठघरामा उभ्याउन जोड्दार माग गरेको छ। लैङ्गिक विभेद र जातिय छुवाछूत जन्य अपराधहरुलाई निरुत्साहन गर्न राज्यको अहम भूमिका र दायित्व हुने भन्दै युनियनले यस्ता खाले गम्भीर प्रकृतिको अपराधहरुलाई रोक्न राज्य थप जिम्मेवार र बफादार हुनुपर्ने उल्लेख गरेको छ। 

भण्डारीको शव आइतबार साँझ स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा शव फेला परेको थियो। शव सोमबार प्रहरीले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगेसँगै भण्डारीका परिवार, आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध गरेर आन्दोलन गरेका थिए।

सुजिता भण्डारी मृत्यु प्रकरणको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न कांग्रेसको माग
असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन्। उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन्।  

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको छ। वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।