संसद् विघटन मुद्दाको बहस आज सकिने, एमिकस क्युरीको राय पनि आजै, फैसला कहिले ?

संसद् विघटन मुद्दाको बहस आज सकिने, एमिकस क्युरीको राय पनि आजै, फैसला कहिले ?

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि हुँदै छ । आज रिट निवेदक तर्फका कानुन व्यवसायीले जवाफी बहस गर्ने छन् । आइतबार सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस गरेका थिए । उनीहरूको बहस सकिएपछि जवाफी बहस सुरु भएको थियो ।

आइतबार जवाफी बहसमा उत्रिएका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले करिब १ घण्टा बहस गरेका थिए । जवाफी बहसका लागि ३ घण्टा समय दिइएकामा अब २ घण्टा बाँकी छ ।

जवाफी बहसपछि आजै एमिकस क्युरीले आफ्नो राय दिने सम्भावना छ । एमिकस क्युरीमा रहेका ४ जनालाई २ घण्टा समय छुट्याइएको छ । एमिकस क्युरीमा सर्वोच्च अदालत बार र नेपाल बारका दुईरदुई गरी चारजना वरिष्ठ अधिवक्ताहरू छन् । वरिष्ठ अधिवक्ताहरू कोमल प्रकाश घिमिरे, प्रकाश बहादुर केसी, राघवलाल वैद्य र उषा मल्ल पाठक एमिकस क्युरीमा छन् ।

त्यसअघि गत आइतबार रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएको थियो । सोमबारबाट सरकार पक्षका कानुन व्यवसायीले बहस गरेकामा उनीहरूको बहस सकिएपछि आइतबार सभामुख सापकोटाका कानुन व्यवसायीले बहस गरेका थिए । यो मुद्दाको बहस आजै सकिने सम्भावना छ ।