नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न ठाउँमा पहिरो

नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न ठाउँमा पहिरो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोको कारण यो सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण बिहान २ः१० बजेदेखि घोप्टेभीर, दुईनम्बर पुल, चार किलो, पांँच किलोलगायत स्थानमा पहिरो झर्न थालेको थियो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ५ बजेदेखि मुग्लिनबाट एउटा डोजर र नारायणगढ तर्फका दुईवटा डोजरले पहिरो पन्छाउने कार्य भइरहेको छ । “अब एकतर्फी सडक सञ्चालनको हुन एक घण्टा लाग्छ होला”, मुग्लिनका प्रहरी सहायक निरीक्षक नरहरी अधिकारीले भने, “म फिल्डमै छु । घोप्टेभीर र दुईनम्बर पुलको पहिरो पन्छाएर चारकिलो जांँदैछु ।”

हाल काठमाडौंबाट जाने सवारीसाधनलाई मुग्लिनमा रोकिराखिएको र नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनलाई जुगेडी र सिमलतालमा रोकिएको प्रहरीले जानकारी दिएको छ ।