काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकका तर्फबाट आज बहस सकिने भएको छ। संवैधानिक इजलासमा सुनुवाई भइरहेको रिटमा निवेदक पक्षलाई दिइएको १२ घण्टाको समयअनुसार आज निवेदकका तर्फबाट ४ घण्टा ४५ मिनेट बहस भएपछि सकिने भएको हो। आज निवेदकको तर्फबाट २९ जना कानुन व्यवसायीलाई ३ देखि ३० मिनेटसम्मका समय तोकिएको छ।
आज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिषकृष्ण खरेललगायतले बहस गर्ने तयारी छ। यस्तै पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले पनि बहस गर्नेछन्। वरिष्ठ अधिवक्ताहरुका लागि ३० मिनेट र पूर्व महान्यायाधिवक्ताका लागि २५ मिनेटको समय तोकिएको छ।
आइतबारदेखि सरकारी पक्ष अर्थात रिट निवेदकको विपक्षले बहस सुरु गर्नेछ। सरकारी पक्षलाई बहसका लागि १५ घण्टाको समय दिइनेछ। त्यसपछि जवाफी बहसका लागि निवेदक पक्षले ३ घण्टाको समय प्राप्त गर्नेछ।