पहिरोले पुरिएर रोल्पामा तीन जनाको मृत्यु

पहिरोले पुरिएर रोल्पामा तीन जनाको मृत्यु

रोल्पा । पहिरोमा परि रोल्पामा ३ जनाको मृत्यु भएको छ। रोल्पा नगरपालिका–९ ह्वामा लिउनमा गएराति घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो। घटनामा परि ३ जना घाइते भएको प्रहरीले जनाएको छ। 

घरमा सुतिरहेको अवस्थामा आएको पहिरोमा पुरिएर मृत्यु हुनेमा रोल्पा नगरपालिका–९ लिउनका ८६ वर्षीया प्रतिमा बुढा, १८  वर्षीया सुशिला बुढा र १६ वर्षीया श्यामकला बुढा रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए। 

पहिरोमा  परि ४५ वर्षीया  सुनमाया  बुढा, ४० वर्षीया टिकासिंह बुढा र ९ वर्षीय शक्तिमान बुढा घाइते भएका छन्। घाइतेमध्ये सुनमाया र शक्तिमानको अवस्था सामान्य रहेको डीएसपी सुवेदीले बताए। घटनास्थल जिल्ला सदरमुकामसँग जोडिएको भएपनि कच्ची सडकका कारण प्रहरीको टोली बिहान पुगेको थियो।