१३ लाख नागरिकलाई कोभिसिल्डको दोस्रो डोज तत्काल दिन सर्वोच्चको आदेश

१३ लाख नागरिकलाई कोभिसिल्डको दोस्रो डोज तत्काल दिन सर्वोच्चको आदेश

काठमाडौं । ६५ वर्षभन्दा माथिल्लो उमेर समूहका नागरिकलाई तत्काल कोभिड-१९ विरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन सर्वोच्च अदालतले मंगलबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले उक्त आदेश दिएको हो । अघिल्लो वर्ष कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई ढिलाइ भएको भन्दै अदालतले आदेश दिएको हो । अदालतले यथाशिघ्र खोपको व्यवस्था गर्न भनेको छ ।

विज्ञहरुले पहिलो डोज लगाएको ८ देखि १२ सातासम्म खोप लगाउन सकिने बताएका छन् । नेपालमा ६५ वर्ष माथिका १३ लाख भन्दा बढीले पहिलो डोज खोप लगाइसकेका छन् ।

दोस्रो डोज खोप लगाउन माग गर्दै अर्जुनराज गिरी समेतले सर्वोच्चमा रिट दायर गरेका थिए । दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउन आदेश जारी गरेको हो । उक्त मुद्दामा बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्माका अनुसार तत्काल खोप उपलब्ध गराउन सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

भारतीय कम्पनी सिरम इन्स्टिच्युटले अग्रिम भुक्तानी लिएर पनि अस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराउन सकेको छैन । उसले अझै १० लाख अस्ट्राजेनेका खोप उपलब्ध गराउन बाँकी छ । कोभ्याक्समार्फत आउनुपर्ने खोप पनि समयमै आउन सकेको छैन ।