स्वाट्टै घट्यो भारतमा दैनिक संक्रमितको संख्या

स्वाट्टै घट्यो भारतमा दैनिक संक्रमितको संख्या

काठमाडौं । भारतमा कोरोना संक्रमण ओरालो लाग्ने क्रम जारी छ। दैनिक संक्रमित भेटिने क्रम घट्दै गएको हो। पछिल्लो २४ घण्टामा ५३ हजार २ सय ५६ नयाँ संक्रमित फेला परेका छन्। यो ८८ दिन यताकै सबैभन्दा कम संख्या हो।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा १४ सय २२ जनाको मृत्यु भएको छ भने ७८ हजार १ सय ९० जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म संक्रमित हुनेको कुल संख्या २ करोड ९९ लाख ३५ हजार २ सय २१ पुगेको छ । ती मध्ये २ करोड ८८ लाख ४४ हजार १ सय ९९ जना निको भएका छन्।

मृत्यु हुनेको संख्या ३ लाख ८८ हजार १ सय ३५ पुगेको सरकारी तथ्यांक छ। अहिले भारतमा ७ लाख भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। भारतले आफ्ना २८ करोड ३६ हजार भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।