कार्यकता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी गठबन्धनद्वारा बैठक बहिस्कार

कार्यकता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी गठबन्धनद्वारा बैठक बहिस्कार

बजेटमाथि छलफलका लागि आइतबारको लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । कार्यकता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी गठबन्धनले सभा बहिस्कार गरेको हो ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कडौडियाले सभामा धारणा राखेपछि विपक्षी गठबन्धन सबै सांसद सभाहलबाट बाहिरिएका थिए । सहमतिका लागि बैठक एक घण्टाका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । 

कांग्रेस प्रदेशसभा प्रमुख सचेतक फकरुद्धिन खाँनले समृद्धि र विकास भन्दा पनि कार्यकता पोस्ने बजेट सरकारले ल्याएको भन्दै त्यसको स्वामित्व हामीले लिन नसक्ने बताए । ‘बजेट वितरणमुखी छ । कार्यकता पोस्ने र कनिका छरेजस्तै छ । यो बजेट नसच्चिदासम्म हामी छलफलमा सहभागी हुँदैनौ’ खानले भने । 

कांग्रेस दलका नेता वीरेन्द्र कनौडियाले सभामा धारणा राख्दै कार्यकता पाल्ने र एमालेकरण बन्ने खालको बजेट आएको बताए । विगतका तीन वर्षमा आएको बजेटभन्दा सबैभन्दा खराब बजेट आएको दावी गरे । ‘प्रतिपक्षलाई झुक्काउने र जिस्काउने काम सरकारले गर्‍यो । वेयटिङ गर्भमेन्टलाई झुक्काइयो । सरकार गलत बाटोमा गयो । जनताको खिलापमा सरकार गयो’ कडौडियाले सभा भने ।