दलित भनेर कोठा नदिने घरबेटीविरुद्ध रुपाले दिइन् जाहेरी

दलित भनेर कोठा नदिने घरबेटीविरुद्ध रुपाले दिइन् जाहेरी

काठमाडौं–  दलित समुदायको भएकै आधारमा कोठा नदिएको आरोप लगाउँदै काठमाडौँका एक जना घरबेटीविरुद्ध पत्रकार रुपा सुनारले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी छिन् ।

पहिले कोठा दिन राजी भएका घरबेटीले आफू दलित समूदायको भन्ने थाहा पाएपछि कोठा नदिएको भन्दै उनीविरुद्ध रुपाले विहीबार प्रहरीमा जाहेरी दिएकी हुन् । उनले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिएको बताएकी छिन् ।

रुपाका अनुसार घरबेटी काठमाडौं महानगरपालिका-११ बबरमहलकी ५८ वर्षिया सरस्वती प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् । दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन् ।

रुपाका अनुसार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा १२ बजे नै जाहेरी दर्ता गर्न गए पनि प्रहरीले प्रमाण नपुगेको भन्दै दर्ता गर्न मानेको थिएन । करिब ५ घण्टासम्मको दबाबपछि प्रहरीमा जाहेरी दर्ता गरेको रुपाले जनाएकी छिन् ।

पहिले कोठा दिन राजी भइसकेकी घरबेटीले जातको कुरापछि कोठा दिन नमानेको विषयमा रुपाले फेसबुकमा एक भिडियो पोस्ट गर्दै यस्तो भनेकी छिन्-

उनले लेखेकी छन्,‘१२ बजेदेखिको निरन्तर दवावले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भइयो । साथ दिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद । लडाइँ अझै बाँकी छ ।’