पत्रकार महासंघ यूकेको अध्यक्षमा ध्रुवराज अर्याल, सचिवमा मञ्जु भण्डारी

पत्रकार महासंघ यूकेको अध्यक्षमा ध्रुवराज अर्याल, सचिवमा मञ्जु भण्डारी

बेलायत । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी भएका छन्। आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अत्यधिक मतसहित अर्याल अध्यक्षमा निर्वाचित भएका हुन्। त्यसैगरी, शाखाको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार विजयी भएका छन् भने महासचिवमा नरेन्द्र बस्नेत विजयी भएका छन् । 

शाखाको १५ सदस्यीय कार्यसमितिका अन्य सबै पद निर्विरोध भए । पाँचौं कार्यसमितिको अध्यक्ष निर्वाचित अर्याल शाखाका पहिलो निर्वाचित अध्यक्ष बनेका छन्। यसअघिका चार वटै कार्यकालका अध्यक्ष सहमतिमै चयन भएका थिए । यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका अर्यालले त्यसअघि शाखाको उपाध्यक्ष र कार्यसमिति सदस्यका रुपमा काम गरिसकेका छन् । 

नवनिर्वाचित अध्यक्ष अर्याल पछिल्लो १२ वर्षदेखि बेलायतमा क्रियाशिल पत्रकार हुन् । लण्डनबाट प्रकाशन हुने नेपाली लिंकका सम्पादक उनी अन्नपूर्ण राष्ट्रिय दैनिकका बेलायत संवाददाता पनि हुन्। यसअघि उनले बेलायतबाटै सञ्चालित नेपाली टिभी र युरोपको नेपालीपत्रमा लामो समय काम गरेका थिए। 

पत्रकार महासंघ बेलायतको नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इंग्नाम तथा सदस्यहरुमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका छन्। कार्यसमितिका बाँकी तीन सदस्य पछि मनोनित गरिनेछन्। शाखाको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ ।