विश्वकप छनौटमा नेपाल अष्ट्रेलियासँग पराजित

विश्वकप छनौटमा नेपाल अष्ट्रेलियासँग पराजित

काठमाडौं । फिफा विश्वकप-२०२२ को दोस्रो चरणको छनोट अन्तर्गत  अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । कुवेतमा शुक्रबार राति १० खेलाडीमा समेटिएको नेपाल एशियाली फुटबलको पावरहाउस मानिने अष्ट्रेलियासँग ३-० गोलले पराजित भएको हो ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गरे । खेलको ४५औँ मिनेटमा अनुभवी डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित नेपालले त्यसपछि अष्ट्रेलियालाई एक गोलमा रोकेको थियो ।

अष्ट्रेलियाका मार्टिनलाई फउल गरेपछि ओमानी रेफ्री अहमेदले रोहितलाई रातो कार्ड देखाएका थिए । जितपछि अष्ट्रेलियाले विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान बनाएको छ  ।

शीर्ष स्थानको अष्ट्रेलियाले ७ खेलमा २१ अंक जोडेको छ । यस समूह ‘बी’ मा अष्ट्रेलिया अपराजित रहने एक्लो टिम हो । नेपालले ८ खेलमा ६ अंक जोडेको छ । नेपालले चौथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ । नेपालको विश्वकपको तेस्रो चरण र एसियन कपको सम्भावना यस अघि नै सकिएको थियो ।