विपक्षी गठवन्धनमा सामेल भएँ, अब बैकल्पिक सरकार निर्माणतिर लाग्छु : दिपक मनाङे

विपक्षी गठवन्धनमा सामेल भएँ, अब बैकल्पिक सरकार निर्माणतिर लाग्छु : दिपक मनाङे

काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री दिपक मनाङेले आफू विपक्षी गठवन्धनतिर लागेको र नयाँ सरकार बनाउन जुटेको घोषणा गरेका छन् । यही भएर आजको प्रदेशसभामा उपस्थित नभएको उनको भनाइ छ ।

कामचलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पठाएको राजीनामा पत्रमा उनले जनताको विश्वासको थलो संसदलाई जिवित राख्नु आफ्नो नैतिक उत्तरदायित्व भएको पनि उल्लेख गरेका छन् । पछिल्ला राजनीतिक घटनाक्रमले सरकार निर्माण हुन नसकी प्रदेशसभा विघटनको  स्थितिमा पुग्ने भएकाले आफू मन्त्री पदमा रहिरनुभन्दा प्रदेश सभालाई बचाउनु उपयुक्त ठानेको उनको भनाइ छ ।

मनाङेले राजीनामा पत्रमा लेखेका छन्, ‘त्यसैले विपक्षी गठवन्धनमा सामेल भइ बैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले मुख्यमन्त्रीले प्रद्शसभामा राख्नुभएको विश्वासको मत लिने प्रस्ताव निर्णयार्थ पेश भएको दिनमा अनुपस्थित बनेको हुँ ।’

मुख्यमन्त्रीले मागेको विश्वासको मतमाथि मतदान हुने दिन आज प्रदेशसभा वैठकमा मनाङे अनुपस्थित बनेका थिए । दिनभर सम्पर्कबिहिन रहेका उनी बेलुकी सम्पर्कमा आएको बताइएको छ ।