किन दिएन सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कांग्रेसले भोट ?

किन दिएन सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कांग्रेसले भोट ?

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिई तटस्थ बसेको छ।

१२ जना सांसद रहेको कांग्रेसले आज प्रदेश सभामा मुख्यमन्त्री भट्टले राखेको विश्वासको मतको प्रस्तावमा पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बसेको हो।

आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टको सरकार ढल्न नदिने निर्णय गरेको थियो तर मतदानमा भने कांग्रेस सांसद तटस्थ बसेका छन्।

यद्यपी मुख्यमन्त्री भट्टले विश्वासको मत जुटाएका छन्। ५१ जना सांसद उपस्थित भएकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३० सांसद समर्थनमा रहेका थिए। 

नेकपा एमालेको केपी शर्मा ओली पक्षका ७ र जसपाका २ गरी ९ सांसदले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिएनन्।

एमालेको माधवकुमार नेपाल पक्षका १७ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन्। यहाँ नेपाल पक्षका सांसदको दबदबा छ। आज बिहान संसदीय दलको बैठक राखेर मुख्यमन्त्रीलाई भोट दिने उनीहरूले निर्णय गरेका थिए।

मुख्यमन्त्रीको प्रस्तावमा पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बसेको कांग्रेस अब प्रतिपक्षी दल हुने भएको छ।

कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सेतोपाटीसँग कुराकानी गर्दै आफूहरू प्रतिपक्षमा बसेको बताए।

‘हामी त प्रतिपक्षमै बस्ने हो नि१ त्यसैले तटस्थ बसेको,’ उनले भने, ‘मुख्यमन्त्रीले भोट त माग्नुभएको थियो। सहयोग गर्नुपर्छ भन्नुभएको थियो तर हामी तटस्थ बस्यौं। उहाँले विश्वासको मत पनि जुटाइसक्नुभयो।’

केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्री बनाउन माओवादीलगायत ५ विपक्षी गठबन्धन नै बनाएर लागेका छन्। केन्द्रको गठबन्धनअनुसार सुदूरपश्चिममा माओवादी केन्द्रका संसदीय दलका नेता मुख्यमन्त्री भट्टलाई कांग्रेसले पनि मत दिने आँकलन थियो तर कांग्रेस तटस्थ बसेको छ।