विपक्षी गठबन्धनले सबै सांसद्लाई नागरिकतासहित बोलायो संसद् भवनमा

विपक्षी गठबन्धनले सबै सांसद्लाई नागरिकतासहित बोलायो संसद् भवनमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर असंवैधानिक रुपमा संसद विघटन गरेको उनले बताए ।

शनिबार विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘फेरि संसद पुनर्स्थापना भएर लोकतन्त्र ट्रयाकमा जानेछ भन्ने विश्वास छ ।’ प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमुलक तरिकाले देशलाई दुर्घटनातिर लगेको भन्दै उनले थपे, ‘यसलाई नेपाली जनताले सहने छैनन् । स्थानीय तहदेखि संसद विघटनको विरोधमा प्रतिवाद सुरु हुनेछ र अदालतमा पनि सशक्त बहस हुनेछ ।’

शनिबार बसेको विपक्षी गठबन्धनको बैठकले संसद विघटनविरुद्ध राजनीतिक र कानूनी रुपमा लडाइँ लड्ने निर्णय पनि गरेको छ । देउवाले १४९ सांसदको हस्ताक्षरसहित दाबी गर्दागर्दै दाबी नपुग्ने भनी राष्ट्रपतिबाट मध्यराति संसद विघटन हुनु अपारदर्शी र निरंकुश कदम भएको प्रचण्डको भनाइ छ ।

उनले घोषित चुनाव देखाउनका लागि भएको दाबी गरे । ‘चुनाव गर्नका लागि घोषणा गरिएको होइन, असंवैधानिक रुपमा गरिएको चुनावको अर्थ छैन,’ उनले भने ।

विपक्षी गठबन्धनले बहुमत सांसदहरुको हस्ताक्षरसहित संसद विघटनविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ । त्यसका लागि आइतबार १ बजे सांसदहरुलाई नागरिकतासहित बानेश्वरस्थित संसद भवन बोलाइएको छ ।